अर्पाटमेन्टबाट निकालिइन् मल्लिका !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री मल्लिका शेरावतलाई हालैका दिनमा एउटा नराम्रो तनाव आइलागेको छ । हालका दिनमा उनी फ्रान्सको पेरिसमा प्रेमी सिरेल अग्जनफैन्ससँग बसिरहेकी छन् । त्यहाँ बसेको घरबेटीले आफूलाई भाडा नदिएको भन्दै दुवैलाई घरबाट निकालिदिएका छन् । घरबेटीका अनुसार जोडीले ६४ लाख रुपैंयाँ तिर्न बाँकी छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मल्लिका १७ औं एरोनडिस्समेन्टस्थित अपार्टमेंटमा बस्छिन् । यो पेरिसको लोकप्रिय स्थानमध्येको एक हो । १९७५ मा रिलिज फिल्म ‘जेम्स बोन्ड’देखि लिएर हालसम्मका कैयौं हलिउड फिल्मको सुटिङ यो स्थानमा भइसकेको छ । मल्लिका पछिल्लो समयमा आर्थिक मन्दीमा गुज्रिरहेका कारण घरबेटीले कोठाबाट निकालिदिएको बतइएको छ ।

मल्लिकाका वकिलका अनुसार नोभेम्बर २०१६ मा उनको अपार्टमेन्ट बाहिर तीन नकाबधारीले मल्लिकालाई कुटपिट गर्दै अश्रुग्याँस छोडेका थिए । यसकारण रिसाएकीले मल्लिकाले भाडा नदिएको अनुमान गरिएको छ । उनले यो समस्या समाधान भएपछि मात्र आफूले भाडा बुझाउने मल्लिकाले अडान लिएकी छन् ।

मल्लिकाले फिल्ममा आउनु अघि सन् २००० मा करनसिंह गिलसँग विवाह गरेकी थिइन् । उनीहरुले विवाहको एक वर्षपछि डिभोर्स गरेका थिए । उनले सन् २००३ मा फिल्म ‘ख्वाहिश’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यसबाहेक ‘किस्मत’, ‘मर्डर’, ‘प्यार के साइड इफेक्ट्स’, ‘शादी से पहले’, ‘वेलकम’, ‘डबल धमाल’लगायतका फिल्ममा काम गरेकी थिइन् ।

Leave a Comment