नाजिरको गुन्युचोलोको विश्वव्यापी प्रदर्शन अधिकार बिक्री

काठमाडौं । पारलैङ्गिक कथामा बनेको फिल्म ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी भिजिअन इन्टरटेनमेन्टले विश्वव्यापी प्रदर्शन अधिकार खरिद गरेपछि यसको नाम ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको निर्देशक समुन्द्र भट्टले बताइन् ।

‘सम्झौता भएसँगै यसको अन्य प्राविधिक कामसमेत सोही कम्पनीअन्तर्गत रहेर गरिनेछ । फरक विषयवस्तुलाई उठान गरिएको फिल्म विश्वभर प्रदर्शन हुँदा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण र प्रवर्द्धन गर्न सफल हुने विश्वास लिएकी छु’, निर्देशक भट्टले भनिन् ।

समुदाय (लिङ्ग)भित्र पर्नेको जीवनमा ‘गुन्युचोलो’को महत्वलाई दृष्टिगत गर्दै परिवर्तित नामले कथालाई झनै मद्दत गरेको निर्देशक भट्टको भनाइ थियो ।

फिल्ममा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतले अभिनय गरेका छन् । यसमा कथा लेख्न निर्देशक भट्ट र पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।