भारतमा परस्त्रीलाई स्वागत र सम्मान

काठमाडौं । सुरज पाण्डेको डेब्यु निर्देशकिय फिल्म ‘परस्त्री’को अहिले प्रचारप्रसारको काम व्यापक भैरहेको छ । फिल्मको निर्माण टिम अहिले फिल्मको प्रचारका लागि भारतमा छन् ।

निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ फिल्मको प्रचार गरिरहेका छन् । आइतबार निर्माण टिमको मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले परस्त्री निर्माण टिमलाई एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।

आइतबार नै फिल्मको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सिनेमाको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्तरक्रिया समेत गरेको थियो । फिल्मले विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् ।

फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् । फिल्मलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।