काठमाडौं । नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पु¥याएका विभिन्न श्रष्टालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ ’ प्रदान गरिएको छ ।
उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा मंगलबार आयोजित कार्यक्रममा कलाकारहरुलाई पुरस्कृत गरेका हुन् । यी पुरस्कार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरेको थियो ।
पुरस्कृत हुने श्रष्टामा लोक संगीत विधाबाट लोक गायक नविनकिशोर राई, संगीत विधाबाट गायक, संगीतकार तथा गीतकार गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट संगीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल, रंगमञ्च विधाबाट रंगकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नृत्य निर्देशक कुलमान नेपाली पुरस्कृत भए ।
कार्यक्रममा नाट्य विधाबाट नाट्य अनुसन्धानदाता प्रा.डा. रामचन्द्र पोखरेललाई पनि पुरस्कृत गरियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो । पुरस्कार उपराष्ट्रपति यादव र प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रदान गरे ।
उपराष्ट्रपति यादवले प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्ने बताए
कुलपति शर्माले प्रतिष्ठानको पछिल्लो कार्यको बारे जानकारी गराउँदै श्रष्टाहरुलाई पुरस्कृत गर्दा श्रष्टामा अझ उर्जा बढ्ने विश्वास व्यक्त गरिन् । पुरस्कृत गायक रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी लागेको बताए ।