निकेशको ए सोल्जरलाई विभिन्न अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाैं । निर्माता निकेश लिम्बुले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ए सोल्जर’ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । लन्डन फिल्म एकेडेमीबाट छ महिने फिल्म मेकिङ्ग कोर्स सकाएर उनले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा एक सिपाहीको कथा भनिएको छ । कर्तव्य पुरा गर्न परिवार भन्दा टाढा रहेको सिपाहीको श्रीमती गर्भवती छिन् । यद्यपि सिपाहीको कर्तव्य र जिम्मेवारी पुरा गर्न परिवार र जन्मथलोलाई मनमा संगाल्दै युद्धको मैदानमा आफूलाई बलियो बनाएको छ ।

एघार मिनेट लामो सर्ट फिल्म ‘ लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन्स २०२३’ पाइनउड स्टुडियो लन्डनमा फाइनालिस्ट हुनका साथै अडियन्स च्वाइस अवार्ड जितेको थियो भने फ्रान्समा आयोजित ‘ब्रिज अफ पिस इन्टरनेशनल फिल्म अवार्ड २०२३’ मा अडियन्स च्वाइस अवार्ड र संयुक्तराज्य अमेरिकाको लस एञ्जल्समा सम्पन्न ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा छनौट भएको थियो ।

फिल्म ‘हसियाँ’ मार्फत सह निर्माताको रुपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा समेत सक्रिय छन् । उनी फोटोग्राफीमा पनि उत्तिकै रुची राख्छन् । उनले निर्माण गरेको फिल्म ‘रातो घर’ले नेपालको पूर्वी सीमामा हुने घटनालाई चित्रण गरेको थियो भने ‘ब्लाइन्ड रक्स’मा उनले आफ्नो दुई वटै आँखाको ज्योती गुमाएकी दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीलाई उतारेका थिए । यिनले निर्माण गरेको फिल्म ‘हृदय भरी’ मा भने प्रदर्शनको पर्खाइमा छ । निकेशको सर्ट फिल्म ‘अ सोल्जर’ मा सगर सुब्बा र ममता देवान सुब्बा मुख्य भूमिकामा छन् ।

यसमा सम्पादन र भीएफएक्स गौतम राज खड्का, रंग संयोजन राम प्रसाद चौधरी, साउण्ड डिजाइन एण्ड मिक्सिङ्ग मनोज राजवाहक, ब्याकग्राउण्ड स्कोर सुजील कर्माचार्य, छायांकन निर्देशक राजदीप राई र निर्माण ज्ञानेन्द्र राउतले गरेका छन् । यसको निर्देशनसँगै लेखन निकेशले गरेका हुन् । यसको पोस्ट प्रोडक्सनको काम बिजी बिमा भएको हो । सर्ट फिल्म ‘अ सोल्जर’ लाई आउँदो नोभेम्बरमा ओटीटीमार्फत सार्वजनिक गर्ने तयारीमा निकेश छन् ।