अस्ताए गायक तथा अभिनेता रोबिन तामाङ

काठमाडौं । सांगीतिक व्याण्ड रोबिन एण्ड द न्यू रिभोल्युसनका संस्थापक रोबिन तामाङको मंगलबार बेलुका निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनलाई हृदयघात भएको हो । उनलाई सुतिरहेको ठाउँमा हृदयघात भएको स्रोतले बताएको छ । उनी ६० वर्षका थिए ।

रोबिनको आधुनिकको आगमनमा, अल एबाउट, वीरताको चिनो, दम मारो दम, कल्पना, केटाकेटीलगायतका गीत हिट छन् । राेबिन गायनका अलावा अभिनयमा पनि उत्तिकै लोकप्रिय थिए । उनले छड्के , मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रे, वान वे, मेरो पैसा खोईलगायतका फिल्ममा अभिनय गरेका थिए ।

रोबिन सिंगापुरमा जन्मिएका हुन् । ब्रिटिस आर्मी परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकाल हङकङ, सिंगापुर र ब्रुनाईमा बितएका थिए ।

सिंगापुरको स्कुलमा पढ्दा उनी जिमी हेन्ड्रिक्स र डीप पर्पलको संगीत तथा गायनबाट प्रभावित थिए । सन् १९८० को मध्यमा उनी टोरन्टोको हम्बर कलेजमा पढ्थे । त्यहाँ उनले तामाङ नामक दोस्रो व्याण्डको स्थापना गरेका थिए ।

सन् १९९६ मा उनी पोखरा आएका थिए । त्यसपछि उनी लोजा नामक व्याण्डमा जोडिए । यो व्याण्ड सन् २००५ सम्म रह्यो ।
रोबिनले व्याण्डमार्फत केटाकेटी, हाम्रो देश, नेपाल र १३००० नामको एलबम निकालिसकेका छन् ।