लालपुर्जापछि ऊनको स्वीटरमा मिरुना र विपिन

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर (द उलन स्वीटर)को आइतबार राजधानीमा घोषणा गरिएको छ । फिल्मको शीर्षगीत सार्वजनिक गर्दै आर्टमान्डूको व्यानरमा फिल्मको घोषणा गरिएको हो ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ। ‘लालपूर्जा’पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो। फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्नेछन्। नवीनले आर्टमाण्डूमार्फत् ‘तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।

‘‘म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ। घोषणा आज गर्न पाउँदा खुसी छु। ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,’ निर्देशक चौहानले भने।

अभिनेता विपीनले यो फिल्म आफ्नो लागि विशेष हुने बताए। ‘नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु। उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ। यो फिल्ममा धेरै कुरा समेटिएको छ। नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु,’उनले भने।

अभिनेत्री मिरुना आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन्। ‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु। झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भनिन्, ’जुन क्यारेक्टर मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजबम आएको थियो। गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु।’

फिल्म घोषणा गर्नुअघि गायक सुजन चापागाईंले टाइटल गीतको लाइभ प्रस्तुति दिएका थिए। फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन्। कार्यक्रममा सुजनले भने, ‘हाम्रो सपनाको सुरुवात तपाईंहरूलाई अगाडि राखेर गर्दैछौँ। हाम्रो गन्तब्यमा हजुरहरूको साथ सधैं रहन्छ भन्नेमा आशा छ। एउटा सपना बोकेर हिँडेका छौँ। तपाईंहरूलाई माया लाग्ने, मनपर्ने बनाउने कोसिस गर्नेछौँ।’
फिल्मका लागि टाइटल गीत हर्क साउदले लेखेका थिए। फिल्ममा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन्। बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ।

फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन्। फिल्ममा चिन्तनराज भण्डारीको छायांकन हुनेछ ।फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन्। ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्।

फिल्म मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ ।