प्रमोदले ल्याए चुपचाप मन पराएँ

काठमाडौं । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को आधुनिक गीतहरुको पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार प्रमोद भट्टराई प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर खिर खाने दिन अर्थात साउन १५ गते सोमबार गीतकार संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा सात वटा गीतहरु संग्रहित उक्त गीति संग्रह लोकार्पण गरिएको हो ।

कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा.नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरेका हुन् ।

बैंकिङ पृष्ठभूमिका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । गायक राजेशपायल राईले गीतकार भट्टराईको रचनाको पहिलो गीत ‘माया जोख्ने तुलो’ रेकर्ड गरेका थिए । गीतमा किर्ति न्यौपानेको संगीत छ ।

एल्बममा समावेश गीतहरुमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाहरुको स्वर रहेको छ ।

यी गीतहरुमा संगीतकार किर्ति न्यौपाने (दिवाकर शर्मा) द्वारा संगीतबद्ध छ वटा गीतहरु समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको संगीत निर्देशन छ ।

एल्बममा समावेश गीतमा पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा बिनोद भुजेलको संगीत संयोजन छ । गीतका भिडियोमा नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीको निर्देशन छ ।