जोगिन्दरले ल्याए लुछाचुँडी

काठमाडाैं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले आउँदो गाईजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी कोसेली ‘लुछाचँुडी’ ल्याएका छन् ।

दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले उनले ‘लुछाचँुडी’ सार्वजनिक गरेका हुन् । ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक ‘लुछाचँुडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भष्टाचारलाई मार्मिक तरिकाले चिरफार गरिएको छ ।

अखण्ड भारतभित्र नेपालको भु–भाग राखिएको बिषय पनि उनको यो पटकको गाईजात्रामा परेको छ । भारतको चेपाहा र हेपाहा प्रवृत्ति प्रतिसमेत उनले व्यङ्ग्य प्रहार गर्न भ्याएका छन् ।

यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसमेत उनले व्यङ्ग्यमा समेटेका छन् । यो निर्वाचनमा ठुलाठुला नेता हारेको विषयप्रति उनले व्यङ्ग्य प्रहार गरेका छन् । उनले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडेको छैनन् ।

विगतका वर्षहरु जस्तै यो पटक उनले आफ्नो ‘गाइजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन् । यो पटक उनले फिल्म ‘घामट शेरे’ को चर्चित गीत ‘कहिले साली मनपर्यो’लाई ‘कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो’ भन्दै प्यारोडी बनाएका छन् । गीतमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई झटारो हानेका छन् ।

दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचँुडी’ २१ औं कोसेली हो । गतवर्ष उनले ‘बकम्फुसाय नमः’ नामक गाईजात्रे कोसेली सार्वजनिक गरेका थिए । सबैतिर लकडाउन भएको कोरोनाको समय पनि उनले ‘लकडान’ नामक ब्याङ्ग्य कोसेली ल्याउदै सबैको मन जितेका थिए ।

यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन् ।

‘लुछाचँुडी’मा जोगिन्दरको अलवा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’ बनेका छन् । राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेब गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायको समेत यसमा अभिनय छ ।

प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन् । भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र सिंगल ट्रि स्वंयम्बुमा गरिएको छ । ‘लुछाचँुडी’को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल ‘जोगिन्दर’ आफैले गरेका हुन् । पोष्ट प्रोडक्सन कोचे मिडियामा भएको छ ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान उत्सव भएकोले सधै झै यो बर्षपछि गाइजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘सधै झै यो बर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने ‘राम्रो लागेमा प्रसंसा र नराम्रो लागेमा सुझाव दिनुहोला ।’

बिसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाइजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक बिकृति प्रतिको खरो झटारो भएको उनको धारणा छ ।

शिवशंकर अहिले ‘गाइजात्रा टुर’को पनि तयारीमा छन् । चितवनदेखि कन्चनपुरस्म्म हुने ‘गाइजात्रा टुर’ बिभिन्न चर्चित हास्य कलाकारको सहभागतिा रहनेछ जागिन्दरले बताए ।