जुलेबीकी सुरक्षा भन्छिन्–यस्तो कथामा धेरै फिल्म बन्दैनन्

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ को गीत ‘आज मन’ सार्वजनिक गरिएको छ । गीतमा केतन क्षेत्रीको स्वर र कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द तथा संगीत रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक गणेश देव पाण्डे, निर्माता आभा नेपाल, कार्यकारी निर्माता नबिन भट्ट, कलाकारहरु सुरक्षा पन्त, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दिक्षित लगायतको उपस्थिति थियो ।

कार्यक्रममा लेखक तथा निर्देशक गणेश देव पाण्डेले भने ‘फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्छ, फिल्मको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ। ‘जुलेबी’ लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो।’

अभिनेत्री सुरक्षा पन्तले रत्नपार्कको वरिपरी कथा घुम्ने र फरक फरक कथामा काम गर्ने निर्देशक गणेश देव पाण्डेसंग काम गर्दा मजा आएको अनुभव सुनाइन्। ‘यस्तो कथामा धेरै फिल्म बन्दैनन्, हाम्रो समाजले हेर्ने दृस्टीकोणले फरक भएको तर उहाँहरु (यौनकर्मी) सुन्दर लाग्ने व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको आफ्नै कथा ब्यथा छन्’ उनले थपिन्।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको फिल्ममा गणेशदेव पाण्डेको निर्देशन छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।