सोशिका प्याब्सन लिटिल आइडल २०२३

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘प्याब्सन लिटिल आइडल २०२३’को उपाधि १२ वर्षीया सोशिका बस्नेतले जितेकी छन् । क्याम्ब्रिज पब्लिक हाइस्कुल पुरानो बानेश्वरमा कक्षा ७ मा अध्ययनरत उनले दोस्रो प्रयासमा शीर्ष उपाधि चुमेकी हुन् । गत वर्ष पनि यस प्रतियोगितामा सहभागी उनी उत्कृष्ट १५ सम्म पुगेकी थिइन् । शीर्ष उपाधिसँगै उनले ३० हजार रुपैयाँ पुरस्कार र सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् ।

प्रतियोगितामा नेसनल ब्लुमिङ फ्लावर एकेडेमी नारायणस्थानमा कक्षा ७ मा अध्ययतरत १३ वर्षीया प्राप्ति कुँवर फस्ट रनरअप हुन सफल भइन् । उनले २० हजार रुपैयाँसहित सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् । उनले पनि दोस्रो प्रयासमा यो सफलता हात पारेकी हुन् । गतवर्ष यस प्रतियोगितामा उनी पनि उत्कृष्ट १५ सम्म पुगेकी थिइन् ।

प्रतियोगितामा क्याम्ब्रिज पब्लिक हाइस्कुलमै कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बेला महर्जन सेकेन्ड रनरअप हुन सफल भइन् । बेलाले १० हजार रुपैयाँसहित सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् । त्यसैगरी ज्ञान निकेतन स्कुल शंखमूलकी प्रतिज्ञा पाण्डेले पनि मिस ट्यालेन्टको उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार र सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति पाएकी छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. मदन विष्ट प्रमुख निर्णायकका रूपमा रहेका थिए । निर्णायक मण्डलमा केन्द्रीय प्याब्सनका कोषाध्यक्ष सन्तोषमणि न्यौपाने, बुद्ध एयरमा कार्यरत क्याप्टेन भगवान थापा, नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिताबिन्दु, एभरेस्ट बैंककी ब्रान्च म्यानेजर दीपा बुढाथोकी, मिस मंगोल नेपाल २०२२ पासाङ डोल्मा शेर्पा, डा. आर्यन दाहाल र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेज, जाउलाखेलका डेपुटी डारेक्टर शिवहरि अधिकारी थिए ।

विभिन्न विद्यालयमा अध्ययनरत कक्षा चारदेखी कक्षा आठसम्मका ६८ जना छात्राहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा आठजनाले पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्ड, पाँचजनाले आर्ट एक्सेलेन्स अवार्ड, तीनजनाले पोयम रिसाइटेसन एक्सेलेन्स अवार्ड, चार जनाले सिङगिङ एक्सेलेन्स अवार्ड, एकजनाले एक्टिङ एक्सेलेन्स अवार्ड, २९ जनाले डान्सिङ एक्सेलेन्स अवार्ड, ६ जनाले हेन्डराइटिङ एक्सेलेन्स अवार्ड प्राप्त गरेका थिए । त्यसैगरी पाँचजनाले सिङगिङ रिकग्निसन रिवार्ड, एकजनाले पब्लिक स्पिकिङरिकग्निसन रिवार्ड र ६ जनाले डान्सिङ रिकग्निसन रिवार्ड पाएकाथिए ।

प्रतियोगितामा बागमती बोडिङ स्कुलकी काव्य कुमाल मिस कन्फिडेन्ट, नेक्सस इन्टरनेसनल स्कुलकी सायरा महत मिस पर्सनालिटी, एन्जल हर्ट सेकेन्डरी स्कुलकी दिव्यश्री ढुंगाना मिस लिडरसिप, एन्जल हर्ट सेकेन्डरी स्कुलकै आरोही आलेमगर मिस फोटोजेनिक र इडेनव्रिज एकेडेमीकी आलियाना अलि मिस फ्रेन्डसिप घोषित भए ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित पाहुनाहरूलाई प्याब्सन काठमाडौंका अध्यक्ष एवं साहित्यकार प्रेमकुमार राईले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्कृति पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रतियोगी छात्राहरूको प्रतिभाको प्रशंसा गर्दै यस्ता प्लेटफर्मबाट भविष्यका कर्णधार छात्राहरूको क्षमता र प्रतिभालाई फुल्ने फल्ने मौका मिल्ने बताए । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितको यो १२ औं संस्करण हो ।