सुशीललाई जुलेबीको आश

काठमाडौं । अभिनेता सुशील सिटौला नयाँ फिल्म ‘जुलेबी’ लिएर यही शुक्रबारदेखि हलमा आउँदैछन् । यो फिल्मप्रति उनी आशावादी छन् । उनको अनुभवमा ‘जुलेबी’ माया र तृष्णाको कथा हो ।

सुशीलका अनुसार फिल्ममा मुख्य भूमिकामा ७ पात्रहरु छन्, जसका आफ्नै विगत र चाहना छन् । ती सबै पात्र रत्नपार्कमै जोडिन्छन् । ‘फिल्म हेरिरहँदा त्यहाँका पात्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग रिलेट गर्छन् । म डोटीबाट काठमाडौं आएको ‘छमान’ नामक पात्रको भूमिकामा छु’, उनी भन्छन् ।

‘जुलेबी’का निर्देशक गणेशदेव पाण्डे हुन् । सुशील यसअघि गणेशकै फिल्म ‘गाँजाबाजा’पनि थिए । उनका अनुसार फिल्मको छायांकन गुरिल्ला स्टाइलमा भएको छ । ‘रत्नपार्कमा उपस्थित मानिसहरुले सुटिङ खासै पत्तो पाएनन् । कलाकारहरु निश्चित ठाउँमा गएर उभिन्थे, निर्माण टिमको एकजनाले साइडबाट एक्सन भनेर क्रस हुन्थे । टाढाबाट क्यामेराले खिचिरहेको हुन्थ्यो’, उनले भने ।

फिल्ममा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । आभा नेपाल निर्माता रहेको यो फिल्मलाई विवेक खड्काले छायांकन र अञ्जय खड्काले सम्पादन गरेका हुन् ।