काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा उनी यौनकर्मी पात्रको भूमिकामा छिन् । उनका अनुसार उनको कथा रत्नपार्कसँग जोडिएको छ । सुरक्षाको भनाईमा उनलाई यौनकर्मीको चरित्र निर्वाह गर्न निकै गाह्रो भएको थयो ।
‘म समाजको संवेदनशिल पात्रको भूमिका निर्वाह गर्दै थिएँ । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो’, उनी भन्छिन् ।
उनले वास्तविक यौनकर्मीबाट जति सूचना पाइन्, त्यो पात्रलाई न्याय गर्न सक्छु भन्नेमा उनमा आत्मविश्वास बढ्यो । ‘फिल्मका लागि केही पूर्वं तयारी गर्नुपर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगें । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनँ । कोहीसँग बोल्न, कुरा गर्न पाइएन्’, सुरक्षा भन्छिन् ।
फिल्मकै सदस्यमार्फत उनले एकजना यौनकर्मी महिलासँग भेट गरिन् । ‘उहाँले एउटा कलाकारका रुपमा महिला चिन्नुहुँदो रहेछ । तपाईको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरी नै खुशी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’
एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई असहज भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाएपनि उनीहरुको ‘बडिल्याङवेज’ नियालिन् । ‘मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंगित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशिलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको हो ।’
फिल्ममा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ । आभा शर्मा नेपाल यस फिल्मको निर्माता रहेकी छन् । चलचित्रको कार्यकारी निर्माता नविन भट्ट हुन्।