विशेष शोमा जुलेबीको कथाको तारिफ

काठमाडौं। गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जुलेबी’ को विशेष शो शुक्रवार सम्पन्न भएको छ। विश्वज्योति सिनेमामा आयोजना गरिएको विशेष शोमा सञ्चारकर्मी तथा फिल्मको टिमको उपस्थिति रहेको थियो। फिल्म हेर्ने अधिकांश दर्शकले निर्देशक पाण्डेको फिल्म केही फरक र भिन्न हुने भन्दै ‘जुलेबी’मा पनि त्यही पाएको प्रतिक्रिया दिए ।

रत्नपार्कको वरिपरि घुमेको कथाले एक पटक सबैलाई सोच्न बाध्य बनाउछ। ७ जना फरक–फरक कलाकारको सम्बन्धको कथाले दर्शकलाई पनि पूर्ण मनोरञ्जन दिनेछ। शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रको माउथ पब्लिसिटीले दर्शक बढ्ने आशामा निर्माण टिम छ।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको फिल्ममा गणेश देव पाण्डेको निर्देशन छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् ।

फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको फिल्मको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।