एकै दिन मुकुनका दुई फिल्म

काठमाडौँ । नेपाली फिल्म ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही फिल्ममार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने ।

फिल्मले राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो फिल्म ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो ।

‘पहिलो फिल्मले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन गरिदियो । यी दुवै फिल्ममार्फत म भित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ’, अभिनेता भुसालले भने, ‘रुचिका हिसाबले मलाई कलात्मक फिल्म नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक फिल्ममार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले दुवै फिल्ममा काम गर्नुपर्छ ।’

दुई फिल्ममार्फत फरकरुपमा सफलता पाउनुभएका अभिनेता भुसालले अभिनय गरेको ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुई फिल्म एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ । दुई फिल्ममा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता भुसाल भने समान छन् ।

‘मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो’, अभिनेता भुसालले भने, ‘एकै दिन दुई फिल्म प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा दुई फिल्मभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।’