एैचो पैंचोको प्रचारमा नेता !

काठमाडौं । फिल्म ‘एैचो पैचो’ आगामी शुक्रबार अर्थात् भदौ १४ गतेबाट रिलिज हुँदैछ । रिलिजको छेकोमा यो फिल्मका प्रमुख कलाकारहरु मुकुन भुषाल, स्वस्तिमा खड्का, वर्षा राउत र सुशील सिटौलासँगै फिल्मकी निर्देशक कृषा चौलागाईं पनि प्रचार प्रसारमा व्यस्त छन् ।

फिल्म युनिटले फिल्मको गीत रिलिजका नेकपा एमाले सचिव योगेश भट्टराई र ट्रेलर रिलिजमा नेकपा(एकीकृत समाजवादी)का नेता प्रेम आलेलाई अतिथिका रुपमा बोलाएका थिए । गैर फिल्मी कार्यक्रममा कमै उपस्थित हुने यी नेताहरुको उपस्थितिले सबैको ध्यानाकृष्ट गराएको थियो ।

फिल्मको गीत ‘काले केटाले’ रिलिजमा उपस्थित एमाले सचिव भट्टराईले आफू फिल्मभन्दा फरक क्षेत्रको मान्छे भए पनि फिल्मसँगको सम्बन्ध नङ र मासुको जस्तै रहेको दाबी गरे ।

‘म बेग्लै क्षेत्रको मान्छे हुँ । तर हामी सबैको सम्बन्ध नङ र मासुको जस्तै छ । हाम्रो क्षेत्रले तपाईहरुलाई बोक्ने, तपाईहरुको क्षेत्रले हामीलाई बोक्ने भएकाले हाम्रो सम्बन्ध राम्रो छ’, उनले भने, ‘तपाईंहरुको असल कामलाई हामीले जहिले पनि प्रोत्साहन र सर्मथन गरिरहेका हुन्छौं ।’
योगेशले फिल्मको गीतको तारिफ गर्न छुटाएनन् ।

‘यो गीत मलाई लाग्छ कि अबको ८० साल सबैलाई नचाउन सक्ने खालको छ । अझै यो फिल्म तीज नजिकै रिलिज हुँदै छ र गीत पनि सार्वजनिक भइसकेकाले नेपाली दिदीबहिनीहरुले टन्न खाएर काले केटालेमा नाँच्नु भयो भने सबैको ज्यान स्वस्तिमाको जस्तै हुनेछ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘ पक्कै पनि यो गीतले तीजमा पनि राम्रै बजार पाँउछ जस्तो लाग्छ । मैले स्वस्तिमाले अभिनय गरेको अर्को एउटा गीत ‘जागिर खान्छु सरकारी अड्डामा’ भन्ने शुभारम्भ गर्ने अवसर पाएको थिएँ । त्यो गीत पनि निकै चलेको थियो ।’ उनले आफूले अभिनेत्री स्वस्तिमा खड्काको फिल्म ‘चिसो मान्छे’ पनि हेरेको स्मरण गर्दै उनको कामबाट प्रभावित भएको बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले फिल्म ‘ऐंचो पैंचो’ले राजनीतिक दलका नेताहरूलाई सच्चिन सन्देश दिने बताएका थिए । ट्रेलर रिलिजमा उपस्थित उनले ‘पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाई रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन फिल्मले सन्देश दिनेमा आफू ढुक्क रहेको बताए ।

‘ट्रेलर हेर्दा गहन कुरा समावेश भएको देखिन्छ । फिल्ममा धेरै स्टोरी छन् । फिल्म सत्यमा आधारित रहेको देखिएको छ,’ उनले भने, ‘यो फिल्मबाट धेरै दर्शकले मनोरञ्जनसँगै ज्ञान पनि हाँसिल होला भन्ने लागेको छ ।’

नेता आलेले नेपालमा राजनीतिक विषयवस्तुमा अझै धेरै फिल्म निर्माण हुन जरुरी रहेको बताए । ‘फिल्म निर्माण अगाडि नै फिल्मको कथा लेख्दा मलाई पनि समावेश गरेको भए अरु थुप्रै नयाँ राजनीतिक कुरा फिल्ममा आउन सक्थे । यद्यपि, फिल्ममा जति कुरा आएका छन्, यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त छन्’, उनले भने । उनले भदौ १४ गते आफू परिवारसहित हलमा गएर फिल्म हेर्ने खुलाए ।

निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । ‘युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, मेरो फिल्म राजनीतिमा मात्रै केन्द्रित छैन’, उनले भनिन्, ‘राजनीति फिल्मको एउटा लेयर मात्रै भएको एैंचो पैंचो ।’

फिल्मका निर्माता विशाल चौलागाईंले राजीतिक दलका नेतासँग फिल्मको कुनै सम्बन्ध नरहेको दाबी गरे । उनले आफू र योगेश साथी र शुभेच्छुक रहेकाले कार्यक्रममा बोलाइएको खुलाए ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । फिल्मको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।