ऐंचो पैंचो प्रिमियरमा कसले के भने ?

काठमाडौं । कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘ऐंचो पैंचो’ले बुधबार साँझ राजधानीमा प्रिमियर शो गरेको छ । प्रिमियरमा अधिकांशले वर्षा राउत र स्वस्तिमा खड्काको कामको तारिफ गरेका छन् ।

प्रिमियरमा फिल्मकर्मीहरुका साथै नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेतलगायतको उपस्थिति थियो ।

अभिनेत्री राउतले गम्भीर भूमिकामा मनछुने अभिनय गरेको भन्दै प्रायःले प्रिमियरमा उपस्थित पाहुना उनको प्रशंसामा शब्द खर्चिए । अभिनेता सुशील सिटौलाको अभिनयको पनि तारिफ भएको थियो । साथै अभिनेत्री स्वस्तिमा खड्काले फिल्ममा निवार्ह गरेको चुलबुले केटीको भुमिकालाई पनि अधिकांशले रुचाएका छन् ।

निर्देशक शोभित बस्नेतले ‘ऐंचो पैंचो’को कथावस्तुले नेतालाई दुखी र आफ्नो पीडा देखाएकोमा कार्यकर्तालाई खुसी बनाउने बताएका छन् । सबै राजनीतिकर्मीले फिल्म हेर्नेपर्ने उनी बताउँछन् । उनका छोरा तथा अभिनेता सलोन बस्नेतले पनि फिल्म राम्रो बनेको बताए ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म राम्रो रहेको बताउँदै राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन् । निर्देशक एभरेष्ट सूर्य बोहोराले फिल्म मनोरञ्जनात्मक रहेको बताउँदै अहिलेकै माहोललाई चित्रण गरिएको बताए । अभिनेता संजोग कोइरालाले फिल्म समसामयिक रहेको र हेरुन्जेल मज्जा आएको प्रतिक्रिया दिए ।

नेकपा एसका नेता तथा सांसद् प्रेम आलेले फिल्म असाध्यै राम्रो बनेको भन्दै प्रशंसा गरे । राजनीतिकर्मीहरुले आफूलाई सच्याउनुपर्ने सन्देश फिल्मले दिएको उनको बुझाई छ । सांसद् शोभिता गौतमले फिल्मले समाजको राम्रो ऐना प्रस्तुत गरेको तर्क गरिन् । अर्का सांसद् ज्ञानेन्द्र शाहीले फिल्मले अहिलेको नेपालको यथार्थ पक्ष देखाएको बताएका छन् । फिल्ममा कुनै बनावटी नभएको र राजनीतिज्ञकै कथा देखाएको उनको बुझाई छ ।

फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन रहेको छ । ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।