एक भगवत गीतामा विपिनको कमलामाई संघर्ष

काठमाडौं । अभिनेता विपिन कार्कीलाई ‘कमलामाई’ अवतारमा प्रस्तुत गरिएको फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा विपिनले कमलाई बन्नुअघिदेखिको संघर्ष हुँदै कमलाई बनेपछिको अवस्थालाई प्राथमिकता दिइएको छ । अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) र मधेशको कथावस्तुमा बनेको फिल्मले विभेद, समानता र न्यायको सन्देश प्रवाह गर्छ ।

ट्रेलरमा पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच राख्ने पात्रविरुद्ध विद्रोह गरेको चरित्रलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका प्रमुख दुई पात्र धिरज मगर र सुहाना थापाको भेट, रोमान्सदेखि प्रेममा खटपटलाई पनि स्थान दिइएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता सुनीलकुमार थापाले आफ्नो करियरको सबैभन्दा चुनौतिपूर्ण र गाह्रो फिल्मका रुपमा ‘एक भगवत गीता’ रहेको बताए । अभिनेता विपिनले यो फिल्ममा अभिनय गरेपछि वास्तविक पारालैंगिक व्यक्तिहरुको पीडालाई नजिकबाट नियालेको अनुभव सुनाए । अभिनेत्री सुहानाले आफ्नो सोचलाई फिल्ममार्फत पुरा गरिदिएकोमा पिता सुनिलप्रति आभार व्यक्त गरिन् । निर्देशक झरना थापाले यसपटक फरक कथामा फिल्म बनाएकाले अघिल्ला फिल्मको जस्तै दर्शकले मनपराउने दाबी गरिन् ।

जनकपुर र कास्कीमा छायांकन गरिएको फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा अभिनेत्री सुहाना निर्मात्रीका रुपमा समेत छिन् । झरना थापाको निर्देशन रहेको फिल्म यही भदौ २९ गतेबाट रिलिज हुँदैछ ।