भारतीय अभिनेत्री दिव्या भन्छिन्–नेपाली भाषा छिट्टै सिकिरहेकी छु

ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो फिल्म यात्राबारे चर्चा गरेकी छन् । बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली फिल्म ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन् ।

लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा उनले नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिइन् । ‘म नेपाली भाषा छिट्टै सिकिरहेको छु, मलाई यहाँ घरभन्दा बाहिर आए जस्तो महसुस भएकै छैन्’, उनले भनिन् । ‘भाग मिल्खा भाग’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’, ‘बद्लापुर’ लगायतका फिल्ममा काम गरेकी अभिनेत्री दत्ताले बाल्यकालमा भारतीय अभिनेता अमिताभ बच्चनबाट प्रभावित भएको बताइन् ।

आमाबुबा चिकित्सक भएकाले उनलाई बाल्यकालमा सोही पेसामा आवद्ध हुन्छु भन्ने लागेको थियो । पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उनले अङ्ग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा गरिन् ।

‘मेरो बुबा म सानै छदा बित्नुभयो, त्यसैले आमालाई मनका कुरा भन्न सहज भए पनि भन्न सक्थिन्’, अभिनेत्री दत्ताले भनिन् । उनले ‘ट्यालेन्ट हन्ट’को सहभागिताका लागि निवेदन दिँदा चाहिने तस्बिर खिच्न भाइको सहारा लिइन्। त्यहाँ छनोट भएपछि भाइसँगै आमालाई आफ्नो सपनाबारे परिचित गराइन्।

‘मैले र भाइले आट गरेर आमालाई भनेका थियौँ । उहाँसँग हामीलाई डर लाग्थ्यो, आमाले मलाई सपनाको उडान भर्ने सहमति दिनुभयो, यद्यपि मेरो अध्यनलाई असर नपुग्ने गरी’, उनले भने । यहीँबाट बलिउड यात्रा प्रारम्भ गरेकी अभिनेत्री दत्ताले अभिनेत्री मनिषा कोइरालाका कारण काम पाइन् । उनको अनुहार मिल्दोजुल्दो देखिएपछि उस्तै खोजिका साथ् आउने निर्माताले काम दिन थाले । यसको उदाहरण ‘अग्निसाक्षी’ हो ।

‘मलाई अन्य अभिनेत्रीको छायाँ बन्नु थिएन, तर त्यसपछि काम गरेको केही चलचित्रमा मुख्य अभिनेत्रीको साथीको भूमिका पाएँ, सुरुआतमा काम देखाउँछु भन्ने लागे पनि पछि गन्तव्य देखिनँ’, अभिनेत्री दत्ताले भनिन् ।

‘वीरजारा’ जस्तो फिल्ममा काम गरेर पनि आफूलाई परिचित गराउन असहज देखेपछि उनको यात्रा रोकिने अवस्थामा पुग्यो । सोही समयमा आमाले पाएको भूमिकालाई निर्वाह गरेर सङ्घर्ष गर्न सुझाएको अभिनेत्री दत्ताले सम्झिइन् ।

‘आमाले चलचित्रमा निरन्तर काम गर्न दिएको सुझाव मानेर काम गरें, त्यही क्रममा मैले ‘दिल्ली ६’, ‘भाग मिल्का भाग’ जस्ता फिल्ममार्फत आफूलाई प्रमाणित गरें’, उनले भनिन्, ‘अहिले वेब शृङ्खलासँगै चरित्रप्रधान चलचित्र बन्ने गरेका छन्, अहिले सङ्घर्ष गर्न पहिलेभन्दा सजिलो छ ।’

सफल अभिनेत्री बन्दै गर्दा उनले लेखनमा समेत आफूलाई अगाडि ल्याइन् । पहिलो पुस्तक ‘मि एन्ड माँ’ भित्र उनले आमासँगको सम्बन्धलाई शब्दमार्फत व्याख्या गरिन् । उनले काम र यात्रालाई सुन्दर बनाइदिने मानिसलाई लक्षित गर्दै दोस्रो पुस्तक ‘द स्टार्स इन माइ स्काइ’ तयार गरिन् । उनलाई आफ्नो शब्दको शक्ति महसुश भने पहिलो पुस्तकबाटै भएको थियो ।

‘मलाई एकदिन चन्डीगढको विमानस्थलमा एक महिलाले बोलाइन, मैले अभिनयको कुरा होला भन्ने ठानेको थिएँ, तर उनले तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो भनिन्, त्यसपछि मैले पुस्तकको महत्व बुझें’, उनले भनिन् । यसरी आफूलाई अभिनेत्रीसँगै साहित्य क्षेत्रमा समेत परिचित गराउन सफल अभिनेत्री दत्ताले केही समय यता ओभर दी टप (ओटीटी) का लागि निर्माण हुने फिल्म तथा शृङ्खलामा काम गरिरहेकी छन् ।

‘एउटा कलाकारका लागि महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता, यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ, यो क्षेत्र निकै अनिश्चत छ, भोलि के हुन्छ, कसैलाई थाहा हुन्न, सायद भोलि केही पनि नहुन पनि सक्छ, तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न’, अभिनेत्री दत्ताले भनिन् । उवनी तीन दिने महोत्सवअन्तर्गत विभिन्न सत्रमा सहभागी भएर विविध पाटोमा छलफल गरिरहेकी छन् ।

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ ।