मिलनलाई गोर्खा वारियरले दिएको खुशी

काठमाडौँ । निर्देशक मिलन चाम्स यतिबेला आफ्नो फिल्म ‘गोर्खा वारियर’का कारण चर्चामा छन् । यो फिल्मको उनी बेलायतमा रेडकार्पेट प्रिमियर गर्दैछन् ।

गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो फिल्मको हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । विशेषत उक्त सिनेवल्र्डमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको फिल्म विशेष प्रदर्शनी हुन्छन् । यद्यपि गोर्खालीको विषयले गर्दा विशेष प्रदर्शनी सम्भव भएको बेलायतबाट निर्देशक चाम्सले जानकारी दिए ।

‘हामीले यो इतिहास बनाउँदैछौँ, विश्वका ठूला कम्पनीले निर्माण गरेको फिल्म प्रिमियर हुने स्थानमा हाम्रो हुनुमा पैसाभन्दा पनि गोर्खालीले बनाउनुभएको वीरताको इतिहास हो’, निर्देशक चाम्सले भने, ‘अहिले गोर्खा वारियरको चर्चा देखिए पनि यसले कालान्तरमा नेपाली फिल्मलाई प्रवद्र्धनमा टेवा पुर्‍याउँछ, किनकि नेपाली फिल्मको स्तरीयता विश्वकै प्रख्यात फिल्म भवनमा देखाउँदैछौँ ।’ उनले खर्चिलो र कानुनी प्रक्रियामा जटिलता भएकाले त्यहाँ प्रिमियर गर्न सहज नहुने बताए । यद्यपि गोखालीको फिल्म भनेपछि सबै स्तरबाट सहयोग पाएकाले देखाउन लागिएको निर्देशक चाम्सले जानकारी दिए । प्रिमियरमा सहभागी हुन नेपालबाट समेत फिल्मकर्मी बेलायत पुग्नेछन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएपछि लन्डनमा चर्चा र चासो बढेको निर्देशक चाम्सले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्खालीका विषयमा फिल्म बनेको थाहा पाएपछि गरिरहेको सहयोगको शब्दमा बयान गर्न सक्दिन, हामीले सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावासका प्रतिनिधि लगायतलाई निम्तो दिइरहेका छौं’, उनले भने ।

उनले आफ्नो कथालाई भन्न र विश्वलाई जानकारी गराउन अब निर्माता तथा निर्देशक तयार हुनुपर्ने बताए । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेको फिल्ममा मिलन श्रेष्ठले सम्पादन, सुदीप बरालले छायाङ्कन र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।