नेपालसँगै विदेशमा रित्तो गाउँ

काठमाडौं । नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालसँगै विदेशमा विशेष प्रदर्शन हुने भएको छ । डकुमेन्ट्री निर्देशक रामजी ज्ञवालीले गाउँको कथालाई डकुमेन्ट्रीमा प्रस्तुत गरिएकाले सबैले मनपराउनेमा आफू ढुक्क रहेको बताए ।

‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ’, ज्ञवालीले भने । आनन्द राजप्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले आफ्नो योजना सार्वजनिक गरेको हो ।

आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । पोस्टरमा हिउँवाला गौतम फिचर्ड छिन् ।

डकुमेन्ट्रीमा मुकुन भुषाल, सुवास गजुरेल र नवनायिका सविना राउतको पनि अभिनय छ । यसमा दिनेशबहादुर रावतको सहायक निर्देशन, निरज कँडेलको डिओपी छ । ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्याजस्ता सर्ट फिल्म निर्देशक गरिसकेका छन् ।

‘रित्तो गाउँ’ आनन्दराज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायललगायत कार्यकारी निर्माताको रुपमा छन् । निर्माता वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंमा हुने र त्यसवापत उठेको रकम क्रिकेट टिमलाई प्रदान गरिने बताए ।
डकुमेन्ट्रीमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, नहकुल खड्काको सम्पादन छ ।