काठमाडौं । आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक फिल्मको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।
र्यापको समिश्रण रहेको गीतमा कृष्ण भारद्धाजको संगीत तथा सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना रहेको गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर छ । प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ । साथै, सार्वजनिक गीतमा संगीतकार भारद्धाज आफैले र्यापमा स्वर समेत भरेका छन् ।
फिल्मले पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेको लेखन छ । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताए । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।