छायांकनरत रङ्गेलीको अस्ट्रेलियामा प्रिमियर तयारी

काठमाडौं । हाल छायाङ्कनको क्रममा रहेको नेपाली फिल्म ‘रङ्गेली’को अस्ट्रेलियामा ग्रान्ड प्रिमियर हुने भएको छ । नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो फिल्म माघको अन्तिम हप्ता अस्ट्रेलियामा प्रिमियर गरिने पक्का भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।

यस फिल्मको लागि अस्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले प्रिमियर तथा रिलिज गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारहरूसहितको फिल्म टिम त्यहाँ पुग्नेछ । त्यहाँका प्रतिष्ठित नेपालीहरू, कूटनीतिक व्यक्तिहरू, पत्रकारहरू तथा फिल्मकर्मीहरूमाझ फिल्मको प्रिमियर गरिनेछ । संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडी नै यसको प्रिमियर हुने बताइएको छ ।

सो कम्पनीले ‘वेस्ट भ्यालु’ प्रदान गरी अस्ट्रेलियाको वितरण अधिकार खरिद गरेको ‘रङ्गेली’को निर्माण पक्षले बताएको छ । आम दर्शकको लागि भने अस्ट्रेलियासहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा नेपालको रिलिज मितिमा नै एकसाथ रिलिज हुने खतिवडाले बताए ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । हाल फिल्मको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ ।

यस फिल्मको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली फिल्मले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । फिल्मका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो फिल्मलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।