प्रियंकाको फेस्टिभलमा विदुषीको चिसो घर

काठमाडौं । एभरेष्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिभलका लागि छानिएको छ ।

आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म ‘चिसो घर’ उक्त फेस्टिभलबाटै वर्ल्ड प्रिमियर हुने भएको छ । थर्ड डाईनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेष्ट फिल्म एकेडेमीद्वारा संयुक्त रुपमा निर्माण गरिएको ११ मिनेट लामो फिल्ममा सोनिका शाही ठकुरी, सरीता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीले अभिनय गरेका छन् ।

विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन रहेको छ ।
फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्तर्गत वल्र्ड प्रिमियरका लागि छानिएको हो । यो फिल्म उक्त फेस्टिभलमा अप्रतिष्पर्धी फिल्मका रुपमा छनोट भएको हो । आफ्नो पहिलो प्रयास नै मुम्बई फिल्म फेस्टिभलजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट हुनु गौरवको विषय भएको भन्दै गिरीले खुशी व्यक्त गरिन् । उनले फेस्टिभलमा सहभागी भएर विभिन्न देशका फिल्म हेरी त्यहाँबाट प्राप्त ज्ञानबाट आगामी दिनमा अघि बढ्न सरल हुने समेत बताइन् ।

७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलमा यस वर्ष नेपाली फिल्मको बाहुल्यता रहेको छ । बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी प्रियंका चोपडा अध्यक्ष रहेको फेस्टिभलमा नेपाली फिल्महरु विभिन्न विधाका लागि छनोट भएका छन् ।