सन्तोषको बलिदानमा सार्वभौम महाकथा

काठमाडौं । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म बलिदानको शीर्षक सहितको थिम लुक सार्वजनिक गरिएको छ । नेपाली फिल्मको सिरिज प्रेम गीत सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शनको ऐतिहासिक सुरुवात गरेका सन्तोष सेनले यो फिल्म बनाउन लागेका हुन् । शनिवार बडा दसैँको फूलपातीको अवसर पारी घोषणा गरिएको फिल्मको रिलिज वि.सं. २०८१ सालको फूलपातीको दिन तय गरिएको छ ।

फिल्मको निर्देशन सन्तोष आफैले गर्दैछन् । आसुसेन प्रा.लि. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरीलगायत रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको स्क्रिप्ट डक्टरको रूपमा मनोज पण्डित रहेका छन् । थिम लुकमा सार्वजनिक सामग्रीअनुसार ुबलिदानुको कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ ।

फिल्मका निर्माता तथा निर्देशक सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशीविदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो सेनले भने ।

तिहार लगत्तै यो फिल्मको छायाङ्कनमा जाने तयारी गरिएको छ ।