भिडियो पसल एपमा छक्का पन्जा ४ र झिङ्गेदाउ

काठमाडौं । व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई फिल्म छक्का पन्जा ४ र झिङ्गेदाउ नेपाली ओटिटि प्ल्याटफर्म भिडियोपसलमा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

दसैँको माहौल पनि रहेको साथै विदेशमा रहनु हुने दर्शकहरूबाट छक्का पन्जा ४ र झिङ्गेदाउको माग निकै उच्च रहेकोले फिल्म रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडियोपसलका संस्थापक निश्चल पाण्डेले बताए ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई ४के गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

हेमराज विसीले निर्देशन गरेको फिल्म छक्का पन्जा ४मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको झिङ्गेदाउमा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।

२०१७ देखी सञ्चालनमा रहेको भिडियोपसलमा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका फिल्महरू रिलिज भई सकेका छन् । एपमा फिल्मसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।