बिच्छेदको गाजलेमा प्रेमिल मुकुन र लक्ष्मी

काठमाडौँ।मङ्सिर ८ मा रिलिज हुने फिल्म ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ । गाजले शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ । फिल्मका प्रमुख कलाकारहरू मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड गीतमा प्रेम भाव प्रकट गरिएको छ । यसका कोरियोग्राफर सुरेन बसेल हुन् ।

अभिनयमा उम्दा कलाकारहरू भुसाल र बर्देवाले यसअघि फिल्म ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । यस फिल्मबाट लामो समय एकसाथ नदेखिएको यो जोडीले पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

निर्देशक सत्यराज चौलागाईँका अनुसार फिल्म नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको छ । अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो फिल्मको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ ।

मुकुन र लक्ष्मीका अलावा फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारी को सम्पादन रहेको छ । समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

फिल्मका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, ऋतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ ।

फिल्मका निर्माताहरू राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् । नवीन पुरीले प्रोडक्शन डिजाइन गरेको यस फिल्म काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।