मङ्सिर २९ बाट जम्प

काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को प्रदर्शन मिति फाइनल गरिएको छ। हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने छ। फिल्म साइकोलोजिक थ्रिलर जनरामा बनेको छ।

राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगत्का दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ।

क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्मले नेपाली चलचित्र उद्योगको लागि नयाँ मानक स्थापित गर्नेमा निर्माण टिम ढुक्क छ । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको दृढ विश्वास छ । फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका रहेको छ।

विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाई सकेको फिल्मले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक आशुतोष ध्वज कार्कीले बताए।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन्। फिल्मलाई गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन्।