माल्टामा परदेशी २

काठमाडौं । फिल्म ‘परदेशी २’ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त फिल्म ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म प्रर्दशन गर्न लागेको हो । सो सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा फिल्मका निर्देशक नारायण रायमाझी, निर्माता राजेश बंशल र राइज मिडियाका तर्फबाट संस्थाकी निर्देशक एवं लोकगायिका सुनिता दुलाल तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए ।

फिल्मले देशप्रतिको आशा, समाजप्रतिको अपेक्षा, बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई जीवन्त ढंगले उजागर गरेको छ । विदेशमा बस्नेहरूले कस्तो जिन्दगी भोगिरहेका छन् । हाम्रो नेपाली समाज, मूल्य, मान्यता, संस्कृति, र देश विकासको जनअपेक्षा समेत फिल्मले उठान गरेको छ ।

वर्षौदेखि, परदेशीनु नेपालीहरुको नियति नै बनिसकेको छ। त्यही नियतिको कथालाई फिल्मले पर्दामा उतारेको छ। ‘गोर्खा पल्टन’ र परदेशी’ मार्फत नेपाली दर्शकको नाडी छामिसकेका निर्माता निर्देशक नारायण रायमाझीले नेपाली दर्शकको मनभित्रको कारुनिकतालाई पर्दामा उतारेका छन्।

फिल्ममा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ ।