दुई कदमबाट आशावादी सिमोन

काठमाडौं । नव कलाकार सिमोन गिरी फिल्म ‘दुई कदम’बाट नेपाली रजतपटमा पाइला चाल्दैछिन् । थुप्रै सौन्दर्य प्रतियोगिता, फोटो सुट र केही डकुमेन्ट्रीमा आफूलाई उपस्थित गराइसकेकी सिमोनका लागि फिल्मको अनुभव पहिलो हो ।

उनले यो फिल्ममा अभिनय गर्नकै लागि कलाकार सुशील पोखरेलसँग एक महिनाको अभिनय कक्षा लिएकी छन् । ‘मलाई अभिनयमा सानैदेखि रुची थियो । त्यो रुचीलाई दुई कदममा पुरा गर्न पाएकी छु’, सिमोन भन्छिन्, ‘यो फिल्मका लागि कलाकार खोजिरहनुभएको थियो । मलाई पनि पहिला देखि नै फिल्ममा आउने रुची भएकाले अडिसन दिएँ र फिल्मका लागि छानिएँ ।’

उनले फिल्मको स्क्रिप्ट मन परेकोले आफूले अभिनयमा चासो देखाएको बताइन् । ‘मेरो उमेर र स्वभाव अनुसारको चरित्र फिल्ममा पाएँ । त्यसै अनुसार काम गर्न सहमत भएँ’,उनी भन्छिन्, ‘फिल्मले मेरो करियर बढाउनेमा आशावादी छु ।’

उनले पर्दामा आफूलाई देख्दा गर्व अनुभव भएको दाबी गरिन् । सिमोन ग्रामीण भेगका महिलाको कथाका फिल्ममा अभिनय गर्न चाहिन्छन् । ‘म आम मानिसले थाहा नपाएका ग्रामीण कथामा फिल्ममा काम गर्न चाहन्छु’, उनी भन्छिन् ।

आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’मा उदय सुब्बाको निर्देशन छ । फिल्ममा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।