सतीदेवीमा फरक मलिका

काठमाडौं । फिल्म निर्देशक लक्ष्मण सुवेदीद्वारा निर्देशित नयाँ फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महतलाई मात्र प्रस्तुत गरिएको पोस्टरमा उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेको देखाइएको छ ।

पोस्टरमा मलिका रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत छिन् । निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । फिल्ममा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ । फिल्मको कथा भने मलिकामाथि केन्द्रित छ ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पार्श्व संगीत रहेको ‘सतीदेवी’मा दिलासा र साराको प्रस्तुति छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।