मंसीर १५ र १६ मा धरानमा धरान म्युजिक फेस्ट

धरान । लामो समयको अन्तरालपछि धरानमा आगामी मंसीर १५ शुक्रबार र १६ गते शनिबार गरी दुई दिन धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल कन्सर्ट धरान म्युजिक फेस्ट २०८० आयोजना हुने भएको छ।

स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत विशेष स्थान दिईने अभिप्रायका साथ पहिलोपल्ट उत्सवको रुपमा आयोजना हुन लागेको कार्यक्रममा पहेंलो बत्ति मुनि, को गौंथली, लोरी, बरी लै, म बाटो हिँड्ने, धोकेबाज हौ तिमीकी गायिका एलिना चौहानको विशेष प्रस्तुति रहनेछ। एलिनाको यो धरानको पहिलो प्रस्तुती हो । सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन्।

फेस्टको दोस्रो तथा अन्तिम दिन मंसीर १६ शनिबार गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवार र धराने गायक पूर्ण राईको विशेष प्रस्तुति रहनेछ। जहिलेसम्म संसार, गाला रातै, इट्स स्लोली, फूल बुट्टे सारी जस्ता गीतकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो। धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत तिमी सेतो चिल्लो गाडी, मनका कुरा, धुर्वतारा, स्पर्शसंगीत, बिरामलगायतका गीत रुचाइएका गीतमा पर्छन् ।

उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ। साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडि बढाईसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ।