इओनलाई वर्षा भन्दैछिन्–ए मेरा बाबै नि

काठमाडौं । आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबै नि’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतमा अभिनेत्री वर्षा शिवाकोटी र डेव्यु कलाकार इओन लिम्बु फिचर्ड छन् ।

वर्षा फिल्मको यही गीतमा मात्रै देखिने छिन् । लामो समय पश्चात ‘परदेशी २’ बाट सफलताको स्वाद चाखेकी अभिनेत्री शिवाकोटी अहिले धेरै निर्माता निर्देशकको नजरमा परेकी छिन् । फिल्मको सार्वजनिक गीतमा उनको केमेष्ट्री डेव्यु कलाकार लिम्बुसँग निकै जमेको छ ।
गीतमा आशिष अविरलको संगीत तथा स्वर र निरुषा भट्टराईको स्वर तथा शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सौरभ लामाको छायांकन छ ।

उदय सुब्बा निर्देशित फिल्ममा वर्षा र इओनका अलावा सिमोन गिरि, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।