दीपेन्द्रको दुःखी आत्मामा दयाहाङ

काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’ निर्देशन गर्ने भएका छन् । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको प्रमुख अभिनेतामा दयाहाङ राई अनुबन्धित भइसकेका छन् ।

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुःखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन, निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ–२’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्म नाम ‘दुःखी आत्मा’ तय गरिएको हो ।

२०८० को अन्त्यतिरबाट छायांकन सुरु गरिने फिल्मका अभिनेत्रीलगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने फिल्म सोसियल कमेडी जनराको हुने जानकारी निर्देशक लामाले दिएका छन् ।

‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दुखी भइरहेका हुन्छौं,त्यही अबस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने,‘फिल्मले मानवीय स्वभावका बिभिन्न आयाम प्रस्तुत गर्ने बिश्वास लिएको छु ।’

निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैठौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुःखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो फिल्मको वितरण पनि आरआर फिल्मस्ले गर्दैछ ।