रिमेक भर्सनमा तिम्रो मनमा लुकेको कुरा

काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो।

३३ बर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’ मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए। गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ। रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वर रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा गीतका संगीतकार रन्जित गजमेर,अभिनेत्री शर्मिला मल्ल,अभिनेत्री गौरी मल्ल,निर्माता मोहन सराफलगायतको उपस्थिति थियो । सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल,सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाहीको अभिनय रहेको छ। भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहको सम्पादन छ । दुई भागमा निर्माण गरिएको भिडियोमा माया प्रेम र सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रन्जित गजमेरले ३३ बर्ष अघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गरे । गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो सार्वजनिक कार्यक्रममा शिशिर भण्डारीको लेखन तथा निर्माणमा बन्ने सामाजिक वेब सिरिज ‘फोटो फिरिममा’को औपचारिक घोषणा पनि गरिएको थियो । सिरिजलाइ सन्तोष राजबाहकले निर्देशन गर्नेछन् ।