क्राइम र थ्रिलर फ्लेभरमा ११ः५५

काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली फिल्म ‘११ः५५’ घोषणा गरिएको छ । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको फिल्म क्राइम, थ्रिलर विधामा निर्माण हुने बताईएको छ ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि फिल्मलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेका निर्देशक पाण्डेले बताए ।

‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको फिल्म सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने,‘यो फिल्ममा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

निर्देशक पाण्डेको फिल्म सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने,‘हामी प्रवासमा एक साँझ भेटिदा फिल्म सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूर्ण रुपमा मनोरन्जनात्मक फिल्म बन्ने छ ।’

अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो फिल्ममार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि फिल्म प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।

यसै फिल्ममार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सगार खनालले फिल्म सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु फिल्म भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।

फिल्ममा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

फिल्म ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति फिल्ममा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको फिल्मको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।