आलिङ्गन बनाउँदै कमल

काठमाडौँ । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनी निर्देशित फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो। यो फिल्मबाट उनले राम्रै प्रशंसाको साथै विभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए।

मगरले फिल्म ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन्। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो। सामाजिक प्रेमकथामा बन्ने फिल्मको कथा स्वयम् मगरले लेखेका हुन्।

फिल्मको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको फिल्ममा चक्रबहादुर महर्जनको छायांकन हुनेछ । परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केहि समय पछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ।