बालबालिकालाई चित्रा निःशुल्क

काठमाडौं । आगामी पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ ।

फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ ।

फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्नेछ ।

यो सँगै ‘चित्रा’ नाम नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए ।

उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो फिल्म धेरैभन्दा धेरै दर्शकहरुले हेरुन् भन्ने उद्देश्यसँगै नेपाली बालबालिकाहरुलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए ।

‘यसले नेपाली फिल्मको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँु,’ उनले भने,‘म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।’

फिल्मका निर्माता आशिष थापा मगर हुन् । फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन् ।

महेश पौडेलले छायांकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ । फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ ।

सन्तोष अधिकारी फिल्मस्को व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई केदार पराजुलीको श्री कृष्ण फिल्मसले वितरण गर्नेछ ।
यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।