पर्यटन प्रवर्द्धन गर्न मायाका रंगहरु घोषणा

काठमाडौं । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म मायाका रंगहरु कलर्स अफ लभको निर्माण घोषणा गरिएको छ । फिल्मको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली फिल्मको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि सिनेमा भन्ने उदेश्यले निर्माण गरिने यो फिल्ममा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ ।

नेपाली र हिन्दीमा छायांकन गरिने फिल्ममा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । यो फिल्मले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई अझै मजबुद बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको छ ।