प्रेम र वेदनाको पर्खी बसें तिमीलाई फस्टलुक

काठमाडौँ । निर्देशक दीपक श्रेष्ठ निर्देशित नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यही पौष २७ मा रिलिज हुने फिल्मको दुई पोस्टरमध्ये एकमा प्रेम भाव देखाईएको छ भने अर्कोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठले यसअघिको फिल्म ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई प्रवेश गराएका थिए ।

यसपटक उनले २७ औँ फिल्मको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए ।

‘यो विसुद्ध प्रेम कथानक फिल्म हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई प्रवेश गराएका छौं । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने । अभिनेता किरण र अभिनेत्री रक्षाले अभिनय सिकेर फिल्ममा डेब्यु गर्न लागेका हुन् ।

आभिनेत्री रक्षाले आफूले प्रेम कथानक फिल्ममार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन् । ‘फिल्ममा लभर गर्लको रुपमा प्रस्तुत भएकी छु । नयाँ भएता पनि टिमले गर्नु भएको सहयोगले मैले आफ्नो काम देखाउने अवसर पाएकी छु’, रक्षाले भनिन् ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने ।

यस फिल्ममा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए । उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विसुद्ध मनोरञ्जनात्मक फिल्म बनेको छ । स–परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को सङ्युक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछन् ।