राजमहलमा पृथक आँचल

काठमाडौं । दरबारको कथा समेटेर नेपाली फिल्म ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा अभिनय गर्ने प्रमुख कलाकारहरुको जानकारी दिदै औपचारिक निर्माण घोषणा गरिएको हो ।

सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको नाम ‘राजमहल’ राखिएको छ । सबिनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।

फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन । करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही दृश्य खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

फिल्ममा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारीको अभिनय रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन् ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको फिल्मका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सह(निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।