पर्खि बसें तिमीलाईको एक शोको रकम हर्कको अभियानलाई

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको अभियानमा फिल्म ‘पर्खि बसेँ तिमीलाई’ टिम जोडिएका छन् । नगरप्रमुख हर्कले सुरू गरेका सुम्निमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ । शुक्रबार नगर प्रमुख हर्कलाई भेट्दै फिल्मबारे जानकारी गराउनुका साथै अभियानमा साथ दिने घोषणा गरिएको निर्देशक दीपक श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले दर्शकलाई फिल्ममार्फत मनोरंजन दिनुका साथै सामाजिक दायित्व निर्वाह गरेका हौँ । हामीले नियमित शोमार्फत प्राप्त हुने एक शोको रकम हस्तान्तरण गर्ने छौं ।’ उनका अनुसार धरानमा प्रदर्शन भए वापतको एक शोबाट उठेको रकम हर्कको अभियानमा दिइने छ । यो घोषणा भएसँगै नगर प्रमुख हर्कले सामाजिक सञ्जालमार्फत नै शुभकामना दिएका छन् ।

‘यही पौष २७ गते रिलिज हुँदै गरेको पर्खि बसेँ तिमीलाई नामको चलचित्रले सुन्मिमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ । निर्माता श्री दिपक श्रेष्ठ (धराने) लाई हार्दिक बधाई तथा शुभकामना । सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ’, नगरप्रमुख हर्कले लेखेका छन् ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।