महाजात्रा पोस्टरमा बन्दी हरिवंश

काठमाडौं । आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’ फर्स्टलुक्स मंगलबार सार्वजनिक भएको छ । फस्टलुकमा ह्वीलचेयरमा बन्धक बनाइएका हरिवंश आचार्यलाई डोहोर्‍याएर फिल्मका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा हिँडिरहेका देख्न सकिन्छ ।

फिल्मले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तवरले प्रस्तुत गरेको फिल्मका प्रस्तुतकर्तासमेत रहेका अभिनेता बानियाँले बताए ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।