काठमाडौँ । अभिनेता दयाहाङ राईका चेला किरण श्रेष्ठ फिल्म ‘पर्खि बसें तिमीलाई’ मार्फत नेपाली रजतपटमा पाइला चाल्दैछन् । यो फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
झण्डै १३ नाटकमा अभिनय गरिसकेका किरण मण्डला थिएटरका विद्यार्थी हुन् । थिएटरको रङ्गमञ्चमार्फत अभिनयमा निखारता ल्याउन उनले सात वर्ष समय लगाएका छन् । एक वेब सिरिजमा अभिनय गर्ने तयारीमा रहँदा निर्देशक दीपक श्रेष्ठले उनलाई अफर गरेका थिए । यो फिल्ममा किरणसँगै रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।
‘थियटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम फिल्म पनि हो । अफर आएपछि किन नगर्ने ? भन्ने लागेको हो’, किरणले भने,‘दीपक सरकै पर्खी बसेँमार्फत राज दाइ (राजबल्लभ कोइराला) ले डेब्यु गर्नुभएको थियो । यहिँ नाम पाएपछि झनै उत्साहित भएँ ।’
उनलाई अभिनय सिकाउने गुरु दयाहाङको जगजगी बक्स अफिसमा छ । उनलाई नाटकबाट फिल्ममा आउने नयाँ पुस्ताको रुपमा हेर्न सकिन्छ । फिल्म र नाटकलाई फरक माध्यम भएकाले उनले दुवैमार्फत कलाकारिता देखाउन खोजेका छन् ।
निर्देशक श्रेष्ठ उनै हुन् जसले ‘पर्खि बसें’बाट राजबल्लभसँगै युना उप्रेतीलाई ब्रेक दिएका थिए । यो फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथानक छ । उनले यसमा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने बताए । केही समयको अन्तरालमा प्रेम कथामा आधारित फिल्म आएको छ ।
‘गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा यसको छ । यो समाजको प्रतिविम्ब पनि हो । यसमा युवापुस्तासँगै अभिभावकले पनि रिलेट गर्नुहुनेछ । किनकि हामी दुवैले एक अर्कालाई बुझ्नु जरुरी छ’, किरणले भने ।
उनी आफूमा हिरोरिजम र कलाकारिता दुवै होस् भन्ने चाहन्छन् । त्यहिँ अनुसार उनले आफ्नो करिअरलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । समग्रमा उनी कलात्मक र व्यावसायिक दुवै फिल्ममार्फत कलाकारिता देखाउने तयारीमा छन् । वर्षमा कम्तीमा दुई नाटक र फिल्म गर्ने उनको योजना छ ।
निर्देशक श्रेष्ठ किरणसँगै रक्षा र अनिशाको भविष्य उज्वल देखन्छन् । ‘युवापुस्तामा पनि उस्तै डेडीकेसन पाए । उनीहरूले गरेको मेहनतले मलाई पुरानो समयको झल्को दियो । यी युवाहरूले प्रविधिको सहजतालाई ग्रहण गरेका छन्, त्यसको फाईदा लिनेमा उनीहरूको ध्यान छैन । अर्थात् मेहनती छन्’, निर्देशक श्रेष्ठले भने ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।