‘चित्रामा बाबुछोरीको कथामात्र छैन’

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज हुने फिल्म ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन् ।

बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए ।

‘बाबुछोरीको कुरा यो फिल्ममा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन् । यसमा बाबुछोरीको कथामात्र छैन’ उनले भने । उनले ‘चित्रा’लाई पूर्ण पारिवारिक फिल्मका रुपमा बुझ्न आग्रह गरे ।

फिल्मबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा डेब्यू गर्दैछन् । उनले ‘घर’, ‘आमा’ लगायतका फिल्ममा सह–निर्माण गरिसकेका छन् ।

उनले फिल्ममा एन्टागोनिस्ट बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले भिन्नसँगै विभिन्न रुपहरु देख्नसक्ने बताए । त्यस्तै कुरा अर्पण थापाको चरित्रमा पनि देख्न सकिने उनको भनाइ थियो ।

‘प्रमोदजीको क्यारेक्टर साँच्चिकै सरप्राइजिङ छ । अर्पणजीको केसमा पनि त्यस्तै देख्नुहुनेछु, उनले भने ।

यसैगरी डेब्यू अभिनेता सन्तोषले आफू फिल्ममा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै फिल्म बनाएको बताए ।

‘लगानी उठ्नेमा म विश्वस्त छु । लगानी उठ्नेमात्र होइन, मलाई यसमा गरेको लगानी उठाएरै अर्को फिलममा लगानी गर्छु । आज एउटा फिल्म लगानी गर्छु अनि घर गएर सुत्छु भनेर आएकै हैन, ब्याक टु ब्याक फिल्म बनाउँछु भनेर आएको हुँ’, अधिकारीले भने ।

यस्तै अभिनेता प्रमोद अग्रहरी फिल्मबाट आशावादी देखिए । उनले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरुबाट आफू थप आशावादी भएको बताए ।