काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान १२ः३० बजे निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।
बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशी स्मृति परिषदका सल्लाहकार हुन् । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।
सचिव जोशीले योगेशको शवलाई अस्पतालबाट नेपाल सगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली दिई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी दिए । योगेशको परिवारमा श्रीमति, एक छोरा र दुई छोरी छन् ।
योगेशको २००३ साल असार २४ गते नाग पञ्चमीको दिन बुवा इन्दिरानन्द वैद्य र आमा रक्मिणी वैद्यको सन्तानका रुपमा नरदेवी काठमाडौंमा भएको हो ।
योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत संगीतमा कालजयी गीत मानिन्छ । यो गीतका रचनाकार शिव अधिकारी हुन् । उनका ‘चोट दिलमै रात दिन’, ‘एक यहाँ एक मन’, ‘मेरो माया तिम्रो’लगायतका गीत छन् ।