काठमाडौंं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् ।
राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष छन् ।
आदिवासी जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका विभिन्न व्यक्तिमध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफारिस गर्ने मान्यता बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।
बोर्डले राईको संयोजकमा छ सदस्यीय समिति गठन गरेको हो । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङहाङ, सगिना सुनुवार, अमृतामाया माझी छन् । समितिका सदस्य सचिवमा हरिसिंह रैखोला रहेका छन् ।
नवनियुक्त संयोजक राईले समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्दै सक्षम बनाउने काम गर्ने बताए ।
आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।
‘सङ्गम, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ र ‘प्रोड्युसर’का निर्मातासमेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो ।