फागुन ४ मा जिग्री

काठमाडौं । सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को तीन फरक पोस्टर सार्वजनिकसँगै रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले ‘एउटा आलु जस्तो, अकर्कोे तामा जस्तो’ ट्यागलाइन राख्दै पोस्टर र रिलिज मिति सार्वजनिक गरेको हो ।

कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको उक्त फिल्ममा आकाश मगरको निर्देशन छ । फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

फिल्म काठमाडौँमा अनेकन महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो । ती युवाहरूले महङ्गी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयबस्तु रहेको छ ।

फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । फिलममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । फिल्मको वितरण सुस्केरा आट्र्सले गर्नेछ ।