काठमाडौं । गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेको संघर्ष र पीडालाई समेटिएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन ११ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलर बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो ।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलर २ मिनेट २२ सेकेण्डको छ । सन् १९४९ मा दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरुले लडेको मलाया युद्धको फिल्म केन्द्रित छ । फिल्ममा मिलन चाम्सको निर्माण र निर्देशन छ ।
‘वीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । वीरताका ती कथा विस्तारै हराउँदो जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो फिल्ममा प्रस्तुत गरेका हौं । फिल्मले वीरताका कथा देखाउन खोजेको छ’, उनले भने ।
फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका रितेश चाम्सले फिल्मका लागि करिब आठ वर्षको तयारी गरेको बताए । ‘ म गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न केही सजिलो भयो’, उनले भने ।
फिल्मको दशैं अघि लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो । यो फिल्म ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा)’ अवार्डको प्रारम्भिक मनोनयनमा पनि परेको छ ।
फिल्म नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा निर्माण गरिएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।