टिजरमा आयो जिग्री

काठमाडौं । अभिनेता अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेटको टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

टिजरमा सुशीलराज पाण्डे र पशुपति राईलगायतका कलाकारलाई पनि देखाइएको छ । आकाश मगर निर्देशित फिल्ममा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको पनि अभिनय छ ।

निर्देशक मगरका अनुसार फिल्ममा युवाहरूले महङ्गी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्षलाई देखाइएको छ ।

सुस्केरा आट्र्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् । फिल्ममा सुमित भट्ट र सोमित माझीको छायांकन, सरुन मानन्धरको सम्पादन र कलर, सुवास पौडेल र भास्कर स्वाँरको सङ्गीत छ । फिल्मको वितरण सुस्केरा आट्र्सले गर्नेछ ।